Skip to content
Association of Nepali Agricultural Journalists - ANAJContact Us
April 15, 2024News-Notices

आगामी वर्षको लागि रासायनिक मल खरिदका लागि १५ अर्बको स्रोत सुनिश्चित, मल अभाव नहुने

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षको लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदको लागि टेण्डर प्रक्रिया शुरु गरेको छ ।

 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानहरुलाई रासायनिक मलको अभाव हुन नदिनको लागि आगामी वर्षको बजेटमा १५ अर्बको स्रोत सुनिश्चित गरी मल खरिदको लागि टेण्डर प्रक्रियामा गएको बताएको छ ।

 

आईतवार सिंहदरबारमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराइएको हो।

 

मन्त्रालयले किसानहरुलाई खेतीको सिजनमा रासायनिक मलको अभाव हुन नदिने उद्देश्यले बजेट अगावै स्रोत सुनिश्चित गरी रासायनिक मल खरिद प्रक्रिया शुरु गरिएको जनाएको छ।

 

कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी वर्षको लागि १५ अर्बको स्रोत सुनिश्चिता गरेर रासायनिक मल खरिदको टेण्डर प्रक्रियामा गएको बताए।

 

सचिव शर्माले १५ अर्ब रकम स्रोत सुनिश्चित गरी २ लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको जानकारी दिए । उनले गहुँका लागि आवश्यक मल खरिदको लागि बजेट कुर्दा प्रक्रिया ढिला हुने भएकाले बजेट अगावै स्रोत सुनिश्चि गरेर टेण्डर गरिएको बताए।

 

शर्माले भने, “सरकारले रासायनिक मल ल्याउनको लागि प्रयास गरिरहेको छ । आगामी वर्षको लागि सरकारले १५ अर्बको स्रोत सुनिश्चिता गरेर रासायनिक मल खरिदको टेण्डरमा गइसकेको छ । जसमा २ लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको छ । बजेट कुर्ने हो भने जेठ १५ पर्खनुपर्छ । मल खरिदमा २२५ दिन पुग्दैन ।”

 

समयमा नै मल आवश्यक भएकाले अर्थ मन्त्रालयको स्वीकृतपछि टेण्डर गरिएको भनाई शर्माको छ। उनले यो वर्ष पनि रासायनिक मलको अभाव नहुने दाबी गर्दे हाल ५१ हजार मेट्रिक टन डीएपी आयात भइरहेको ९० हजार मेट्रिक टन युरिया मल हुँदा यो वर्षलाई पुग्ने जनाए।

 

सचिव शर्माले सरकारसँग युरिया मल पर्याप्त मात्रामा मौज्दात रहेको बताए । उनले २ लाख १० हजार मेट्रिक टन युरिया, ९७ हजार ८६५ डीएपी र १३ हजार ९५१ पोटास गरी ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल आयात भइरहेको जानकारी दिए।

 

शर्माले भने, “यो वर्ष पनि रासायनिक मलको अभाव हुँदैन । अहिले ५१ हजार मेट्रिक टन मल आयो भने ९० हजार युरिया,६० हजार मेट्रिक टन डीइपी भयो भने यो वर्षलाई पुग्छ । सरकारसँग युरिया मल पर्याप्त मात्रामा मौज्दात छ । डीएपी पनि भारतमा चुनाव भएको कारण थोरै ट्रान्सपोटेसनमा समस्या हुन्छ भनेर लागि परेका छौं ।”

 

उनका अनुसार हाल सरकारसँग युरिया ७५ हजार ९ सय ६६, डीएपी १६ हजार ८३५ र पोटास ६ हजार २३४ मेट्रिक टन मौज्दात छ। चालु आर्थिक वर्षमा युरिया १ लाख ७६ हजार, डीएपी १ लाख ८ हजार ७९७ र पोटास ९ हजार मल वितरण गरिएको जानकारी दिइयो।

 

 

मल खरिद प्रक्रिया छोटो बनाउँछौँः मन्त्री ज्वाला

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले रासायनिक मल खरिद प्रक्रिया लामो र झन्झटिलो भएकाले समयमा आपूर्ति समस्या आउने गरेको बताएका छिन् ।

 

आइतवार मन्त्रालयमा आयोजित मलखाद आपूर्ति सम्बन्धि कार्यक्रममा बोल्दै उनले खरिद प्रक्रियालाई मल आयात हुन नसक्दा संधै विवाद र झमेला भइरहेकाले प्रक्रियालाई तिब्रता दिनेगरी कार्यविधि बनाउन आवश्यक रहेको बताइन्।

 

मन्त्रालयले कार्यविधि बनाउन सक्ने हो भने यसको निकास तत्काल हुने विश्वास मन्त्री साहको छ । उनले मल खरिदको टेण्डर प्रक्रिया लामो भएकाले लामो प्रक्रियालाई बन्द गर्नुपर्ने बताउँदै रासायनिक मल खरिद प्रक्रिाय छोटो बाटोमा जानु आवश्यक रहेको प्रष्ट्याइन्

रासायनीक मल आपूर्तिको अन्य विकल्प नभएसम्म आयात नै गर्नुपर्नै बाध्यता भएकाले खरिद प्रक्रिया तिब्र गतिमा लैजानलाई कार्यविधि बनाएर अघि बढ्नुपर्ने बताएकी हुन्।

 

मन्त्री ज्वालाले कृषि मन्त्रालयले राम्रो काम गर्न खोजिरहेको भन्दै भर्खरै सुन्तलालाई राष्ट्रिय फलको रुपमा घोषणा गरेको सुनाइन् ।

—न्युज एजेन्सी नेपाल