Skip to content
☎ +9779851077267✉ anaj.nepal@gmail.com⌖ Anamnagar, Kathmandu, Nepal
Association of Nepali Agricultural Journalists - ANAJContact Us
July 23, 2025Events, News-Notices

अन्तर्राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी हुँदै, नामियाको नेतृत्वमा ३० सदस्यीय प्रतिनिधिमण्डल थाइल्याण्ड प्रस्थान

काठमाडौँ । थाई कृषि इञ्जिनियरिङ समाज (टिएसएई) को निमन्त्रणमा थाइल्याण्डमा आयोजना हुन लागेको ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी सीआईएएमई एसिया २०२५’ मा सहभागी हुन नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा ३० सदस्यीय प्रतिनिधिमण्डल आज थाइल्याण्ड प्रस्थान गरेको छ।

कृषि यान्त्रिकरणमा संलग्न व्यवसायी, आपूर्तिकर्ता तथा प्राविधिकहरू सम्मिलित नेपाली टोलीले प्रदर्शनीमा सहभागी भइ नवीनतम प्रविधिहरूको अवलोकन गर्नेछ। संघका अनुसार सहभागिताबाट व्यवसायीहरूको ज्ञान, सीप र क्षमतामा अभिवृद्धि भइ नेपालमा कृषि यान्त्रिकरण प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

चीन कृषि मेसिन वितरण संघ (क्याम्डा) र थाई कृषि इञ्जिनियरिङ समाज (टिएसएई) को संयुक्त आयोजनामा सीआईएएमई एसिया २०२५ यही २०८२ साउन ७ देखि ९ (२३–२५ जुलाई २०२५) सम्म थाइल्याण्डमा आयोजना हुँदैछ। यो थाइल्याण्डमा आयोजना हुने पहिलो तथा अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी हो । जसले थाइल्याण्ड, चीन तथा एसियाका अन्य देशका कृषि विज्ञ, उद्योगपति, नीति निर्माता र व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्य राखेको संघकाे दाबी छ ।

प्रदर्शनीको मुख्य उद्देश्य दिगो कृषि प्रणालीको प्रवर्धन र खेतीमा आगो लगाउने परम्पराको न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधिको विकास र प्रयोगमा जोड दिनु हो।

प्रदर्शनीमा देखाइने प्रमुख प्रविधिहरूम-जीपीएस प्रणालीयुक्त स्मार्ट ट्र्याक्टरहरू, उच्च क्षमतायुक्त उखु काट्ने मेसिनहरू, धानको पाला संकलन गर्ने वातावरणमैत्री संयन्त्र, र रसायन तथा मलको सटिक छरकाव गर्न सकिने कृषि ड्रोनहरू समावेश छन्।

त्यस्तै, स्मार्ट जल व्यवस्थापन प्रणाली, सटिक कृषि प्रविधि, रासायनिक प्रयोग घटाउने एग्रि-बायोटेक समाधानहरू, साथै कृषिजन्य फोहोर व्यवस्थापन गर्ने अत्याधुनिक मेसिनहरू र कृषि अवशेषबाट ऊर्जा उत्पादन गर्ने जैविक समाधानहरू समेत प्रदर्शनीका आकर्षण हुने नामियाले जनाएकाे छ ।

प्रस्थानअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष शर्माले सीआईएएमई एसिया २०२५ मा हाम्रो सहभागिताले नेपालमा कृषि यान्त्रिकरणको प्रवर्धनमा टेवा पुग्ने बताए । उनले भने,”यसले व्यवसायीहरूको दृष्टिकोणमा नवीनता ल्याउनुका साथै अन्तर्राष्ट्रिय बजारसँगको सम्बन्ध सुदृढ बनाउनेछ।”