Skip to content
AANAJContact Us
March 22, 2025Events, News-Notices

‘कृषिको उत्पादन र उत्पादकत्व बढाउन यान्त्रिकीकरणको भूमिका महत्वपूर्ण’

काठमाडौँ। नेपालमा कृषि उत्पादन र उत्पादकत्व बढाउन कृषि यान्त्रीकरणको महत्त्वपूर्ण भूमिका रहेको सरोकारवालाले बताएका छन्।

नेपाल नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को नवौँ वार्षिक साधारण सभाको अवसरमा बोल्ने वक्ताहरूले कृषि यान्त्रीकरणमा नामियाले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उच्च प्रशंसा गरेका छन्।

शनिवार ललितपुरस्थित होटेल हिमालयनमा सम्पन्न कार्यक्रममा बोल्दै कृषिमन्त्री रामनाथ अधिकारीले कृषिको उत्पादन र उत्पादकत्व बढाउन नामियाको भूमिकाको प्रशंसा गरे।

मन्त्री अधिकारीले कृषि बाट समृद्धि हासिल गर्न कृषि प्रविधिको प्रयोग अनिवार्य रहेको चर्चा गरे। उनले आयात गर्नैपर्ने यन्त्र आयात गर्ने र सम्भव भएसम्म नेपालमै उत्पादन गर्न पनि पहल गर्न व्यवसायीहरुलाई अनुरोध गरे।

नेपालको कृषि प्रणालीमा आधुनिकरण गर्नुपर्ने भएकाले प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउन सरकारले भूमिका खेल्ने बताए।

देश सुहाउँदो कृषि यन्त्र निर्माणमा पनि जोड दिँदै उनले व्यवसायीहरूलाई भने, “व्यवसाय मात्र होइन अब यही उत्पादनमा पनि तपाईँहरू लाग्नुहोस्।”

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले पनि नामियाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै महासंघले पनि आफ्नो तर्फबाट कृषि यान्त्रकरणमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

ढकालले कतिपय ऐन पर्याप्त हुँदाहुँदै पनि कार्यान्वयनमा देखिएको समस्याले आशातित उपलब्धि हासिल गर्न नसकेको चर्चा गर्दै सरकारको ध्यानाकर्षण गराए।

नामियाका अध्यक्ष कृष्ण शर्माले यान्त्रीकरणमा हरसम्भव योगदान गर्न सदस्यहरूले भूमिका खेलेको बताए । अध्यक्ष शर्माले आर्थिक वर्ष ८०/८१ मा नामियाले गरेका विभिन्न गतिविधिको चर्चा गर्दै कृषि कृषि यान्त्रीकरणलाई कृषि क्षेत्रको मेरुदण्डको रूपमा चित्रण गरे।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले कृषिमा बजेटको ठूलो हिस्सा मलखादमा खर्च भइरहेको चर्चा गर्दै सम्भव भएसम्म नेपालमै कारखाना खोल्ने विषय प्राथमिकतामा राख्नुपर्ने बताए।

श्रेष्ठले कृषि यन्त्र मर्मत तथा स्वदेशमै निर्माण गर्दा आवश्यक पर्ने कच्चा पदार्थ आयातमा भन्सार दर न्यायोचित नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए।

उनले कृषिमा अनुदानको दुरुपयोग भएको बताए। अनुदान उत्पादन र उत्पादकत्वको आधारमा दिनुपर्नेमा उनको जोड छ।

भारतमा वस्तुअनुसार भ्याटको दर पनि फरकफरक रहेको तर नेपालमा भने एउटै भ्याटदर हुँदा कृषि क्षेत्र र यान्त्रिकरणको क्षेत्र अन्यायमा परेको उनको भनाइ छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले पनि नामियाले खेलेको भूमिकाको उच्च प्रशंसा गरे। शर्माले भने, “पछिल्लो १५ – २० वर्षमा कृषियान्त्रीकरणमा मात्रात्मक रूपमा धेरै फड्को मारेको अवस्था छ। गुणात्मकमा पनि थप फड्को मार्नुपर्ने देखिन्छ।”

उत्पादन लागत घटाएर उत्पादन बढाउँदै जानको लागि कृषि यान्त्रिकरण नै मुख्य बाटो रहेको भनाइ कृषि सचिव शर्माको छ।

कार्यक्रममा विभिन्न वक्ताहरुले उठाएको जिज्ञासा लाई सम्बोधन गर्दै शर्माले कृषि यान्त्रिकरण नीतिको परिमार्जन, कृषि ऐन र कृषि नीति समयमा नआएका कारण ढिला भएको बताए। नीति र ऐन दुबै प्रकृया अघि बढेकाले छिटै टुङ्गो लाग्ने बताए।

शर्माले कृषि यन्त्रको गुणस्तर परीक्षण गर्ने लगायतका कामको लागि नवलपुरमा मेसिनरी टेस्टिङ सेन्टर। स्थापना भएको र सो सेन्टरबाट आयात गर्ने कृषि यन्त्रहरूको गुणस्तर परीक्षण गरिने बताए।

नामियाले कार्यक्रममा उत्कृष्ट किसान, उत्कृष्ट पत्रकार र आर्थिक वर्ष ८०/८१ मा सबैभन्दा बढी कर तिर्ने नामियाका सदस्य तथा कुबेर एण्ड सन्सका संचालक जेपी घिमिरेलाई सम्मान गरेको छ।

उत्कृष्ट किसानहरूमा बर्दियाका पहाडी थारु, दाङकी रुबिया चौधरी छन्। कृषि सञ्चारमा भूमिका खेलेको कदर गर्दै सेतोपाटी डट कम कि संवाददाता सुनिता सिटौला र कृषि पत्रिकाका गोपाल आले मगरलाई सम्मान गरिएको हो।