Skip to content
AANAJContact Us
March 28, 2023News-Notices

झपक्कै फुल्यो आँप

यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको छ । फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुसी ल्याएको छ । “अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौँ”, तुलसीपुर–७ प्रसेनीका किसान नवराज सुवेदीले भन्नुभयो, “यसले हामीलाई खुसी बनाएको छ । हेर्दा पनि मनमोहक देखिन्छ ।”
आँप धेरै फुले पनि यसलाई जोगाउन भने चुनौती रहेको किसान तुलसीपुर–९ निवासी दिवेश केसीले बताउनुभयो । “हावाहुरी, असिना पानीले फूल झार्दिने हो कि भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “आँप धेरै फले पनि त्यसको बजारीकरण नहुँदा कुहिएर जाने हो कि भन्ने पनि चिन्ता छ ।”
यस बर्ष आँपमा ‘अनएयर’ भएकाले पनि आँपमा धेरै फूल फुलेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताउनुभयो । “फूल फुल्ने बिरुवामा एक वर्ष अनएयर र एक वर्ष अफएयर हुन्छ”, उहाँले भन्नुभयो, “यस वर्ष आँपको अनएयर चलिरहेको छ, त्यसैले आँप धेरै फुलेको हो ।”
असिना, पानी, हावाहुरीले असर नगरेमा यस वर्ष आँप उत्पादन अत्यधिक वृद्धि हुने उहाँको भनाइ छ । आँप उत्पादन भए पनि त्यसलाई बजारीकरणका लागि अचार बनाउनेदेखि पाक्दासम्म ध्यान दिनुपर्ने बताउनुभयो । आँप बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था रहेको जनाउँदै यसलाई अन्त्य गर्न आँप संरक्षण तथा व्यवसायीकरणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
दाङको पवननगर, मानपुर र बिजौरी क्षेत्र आँप उत्पादनका लागि उत्तम क्षेत्र मानिन्छ । अहिले दाङमा स्थानीय बिजु, सुपारी जातका आँप उत्पादन हुने गर्छ । त्यस्तै दसरी, माल्डा, अम्रपाली, नागपुरे, बम्बे जातका आँप उत्पादन हुने गरेको छ । जिल्लामा बर्सेनि आठ हजार मेट्रिक टनको हाराहारीमा आँप उत्पादन हुने गर्छ ।